छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु



काठमाडौं । देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । ओखलढुंगाको दियालेको राहुटार भन्ने स्थानमा बोलेरो जिप दुर्घटना हुँदा चिशङ्खुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको छ । 

चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको उक्त जिप दुर्घटनामा परेर ११ जना घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र केहीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको ओखलढुंगा प्रहरीले जनाएको छ ।

यसैगरी, धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ मा ट्याक्टरलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा मोटरसाइक चालक स्थानीय ४५ वर्षीय राम एकवाल ठाकुर र पछाडी सवार ६० वर्षीय सतो साह सुडीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । महेन्द्रनगरबाट लक्ष्मीनिया तर्फ जादै गरेको ज १ त ५२ ४५ नम्बरको ट्याक्टरको टेलरमा सोही दिशा तर्फ जादै गरेको ज १० प ६४ २९ नम्बरको मोटरसाइकल ठोक्किएर पल्टिएको थियो ।

दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।  

धनुषाकै गणेशमान चारनाथ नगरपालिका ९ बरमझियामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार शहिदनगर नगरपालिका–९ कि ४५ वर्षीया कुमारीदेवी मण्डलको मृत्यु भएको छ । 

मोटरसाइकल चालक मृतक कुमारीदेवीको छोरा २८ वर्षीय उदय कुमार मण्डल घाइते भएकाले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ  । 

धादिङको बेनिघाट रोराङ गाँउपालिका ३ हिलटपमा सवारी साधनको ठक्करबाट पैदलयात्री एक पुरुषको मृत्यु भएको छ । मृतकको नाम थर वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।