काठमाडौँ । उपराष्ट्रपति पदमा चार जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट तीन र एमालेबाट एक गरी चार जनाको उम्मेदवारी परेको हाे । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नेहरुमा सत्ता गठबन्धनका तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला यादव तथा जनमत पार्टीकी ममता झा छन् । त्यसैगरी एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छिन् ।
सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)बाटै दुईजनाको उमेदवारी परेको छ । उमेदवारी खारेज हुनसक्ने अवस्था भएकाले दुई उमेदवार रहेका बताइएको छ ।
रामसहायप्रसाद यादवको प्रस्तावकमा नेताहरु अशोक राई, प्रदीप यादव, शक्ति बस्नेत, किसान श्रेष्ठ र रमेशजङ्ग रायमाझी तथा समर्थकमा नेताहरु रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, डा. खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन् ।
उम्मेदवार प्रमिला यादवको प्रस्तावकमा सांसदहरु रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन् । यस्तै उनको समर्थकमा सांसदहरु अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई र मनिसकुमार सुमन छन् ।
ममता झाको प्रस्तावक अब्दुल खान अनिता देवी गंगाराम चौधरी अविराम शर्मा रूपा कुमारी यादव रहेका छन् भने समर्थक गोमा लाभ सापकोटा विनिता कुमारी सिंह वसन्तकुमार कुहवाह रामप्रकाश चौधरी रानीकुमारी तिवारी रहेका छन् ।
शाक्यको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट रघुवीर महासेठ र समर्थकमा कृष्ण गोपाल श्रेष्ठ महेश बर्तौला तुलसा दाहाल भगवती न्यौपाने यसोदा रिजाल रहेका छन् ।
सत्ता गठबन्धनले उपराष्ट्रपतिका लागि साझा उम्मेदवार तय गर्ने भनेपनि सहमति जुट्न नसक्दा तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
अब दर्ता भएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म गरिने, उम्मेदवारको विरोधमा उजुरी दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म दिन सकिने आयोगले जनाएको छ ।
यस्तै मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने गरी कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया