काठमाडौँ । सभामुख देवराज घिमिरेले सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।
मङ्गलवारदेखि काठमाडौँमा सुरु भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन भए पनि सामुदायिक विद्यालयको शिक्षामा आधारभूत परिवर्तन हुन नसकेको बताएका हुन् ।
उनले भने,‘नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक सुनिश्चित गरेको छ । आधारभूत शिक्षा निःशुल्क र सर्वसुलभ भए पनि कार्यान्वयन भएको छैन। शिक्षाले देशको भविष्य निर्धारण गर्छ ।’
सभामुख घिमिरेले संघीय शिक्षा ऐन आउन बाँकी रहे पनि भएका कानुन पनि प्रभावकारी कार्यान्वयन नभएको बताए । उनले भने, ‘भएका कानुन कार्यान्वयनमा किन बाधा पुगेको छ ? ठूलो लगानी सदुपयोग किन भएको छैन, लगानीको प्रतिफल किन पाएका छैनौँ भनेर तपाईँहरूले छलफल गर्नुपर्छ ।’
आर्थिक, सामाजिक र सांस्कृतिक सुधारका लागि शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिँदै सभामुख घिमिरेले सार्वजनिक विद्यालयको गुणस्तर कम हुँदा सर्वसाधारणले खर्च कटाएर भए पनि निजी विद्यालयमा छोराछोरी भर्ना गर्नुपर्ने अवस्था आएको बताए।
‘हामी सुधार गर्दछौँ, हाम्रो विद्यालय’ नाराका साथ सुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ। सम्मेलनमा देशभरका ७५३ वटै स्थानीय तहहरूबाट विद्यालय व्यवस्थापन समितिको प्रतिनिधित्व रहेको छ ।
प्रतिक्रिया