उपनिर्वाचनको रौनक र यथार्थता

उपनिर्वाचनको रौनक र यथार्थता



बैशाख १० गते हुने उपनिर्वाचन विशेष चर्चामा आएको छ । राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल तथा रामसहाय यादवको कारण रिक्त दुई निर्वाचन क्षेत्र र रवि लामिछानेको नागरिकता प्रकरणले निर्वाचन नै बद्दर भएकाले निर्वाचन गर्नु परेको सर्वविदितै छ । रवि पुनः उम्मेदवार भएका छन् चितनवबाट भने तनहुँ र बारामा अलि फरक दृश्य प्रकट भएको देखिन्छ । तनहुँमा काठमाडौंमा पराजित भएका पूर्व प्रहरी महानिरीक्षकलाई एमालेले उम्मेदवार बनाएको र बारामा सप्तरीमा नराम्रोसँग पराजित उपेन्द्र यादव उम्मेदवार बनेका, डा. स्वर्णिम वाग्लेको विषयले थप कौतुहलता बढाएको देखिन्छ । जनताले निर्णय गर्ने कुरालाई सबैले स्वीकार गर्नु नै पर्छ । तर आफू सत्ताको वरिपरी बसिरहन पर्दछ भन्ने उपेन्द्र यादव प्रवृत्ति पराजित हुन अति आवश्यक छ ।

केवल आफ्ना लागि रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिमा अगाडि सारेर उपेन्द्रले सत्तारोहण गर्न चाहेका हुन भन्ने स्पष्ट नै छ । मधेशमा उनको गिर्दो साख र अस्वीकार्यतालाई चोर बाटोबाट सत्तामा पुगेर जवाफ दिन खोजेको देखिन्छ । जहाँ यस मुद्दामा गम्भीर बहस र विचार विमर्श हुनु पर्दथ्यो, त्यहाँ विषय प्रवेश नै छैन । आ–आफ्ना स्वार्थका खातिर उक्त निर्वाचन क्षेत्रमा कांग्रेस–माओवादीको उम्मेदवारी नै छैन । तीनवटा निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रको उम्मेदवारी छैन । दुईवटामा कांग्रेसलाई समर्थन गरेको छ भने बारामा उपेन्द्र यादवलाई समर्थन गरेको छ भने बारामा उपेन्द्र यादवको समर्थनमा उम्मेदवारी परेको छैन ।

मंसिर ४ गते निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गरेर प्रतिस्पर्धा गरेका यादव वैशाख १० को उपनिर्वाचन कांग्रेस माओवादीको सहयोग र समर्थनमा निर्वाचित हुने सपना देखिरहेका छन् । यहाँ कुनै मुद्दा, विचार, सिद्धान्त र कार्यक्रमको सन्दर्भ छैन, केवल स्वार्थ र सत्ताको मात्र कुरा छ । मतदाताले यिनीहरुको व्यक्तिगत स्वार्थ पूरा गराउन सहयोग पु¥याउनु पर्ने कुनै बाध्यता छ ? उपेन्द्र यादवले अब के गर्छन्, मधेशका लागि मधेशीका लागि वा मुलुकका लागि ? उनी किन संसदमा आवश्यक छन् भन्ने अन्य दलहरु स्पष्ट गर्न सक्छन् ? त्यसको आवश्यकता, औचित्यता मात्र होइन, आधार र कारणसमेत प्रस्तुत गर्न सक्ने अवस्थामा दलहरुको नेतृत्व छैन ।

चितवनमा रवि लामिछानेलाई हराउन सकिन्छ भन्ने आत्मविश्वास देखिएन । सम्भावना भएको भए कांगे्रस र एमालेका उम्मेदवार फरक हुन्थे । यद्यपि रविको उम्मेदवारीमाथि अझै कानुनी प्रश्न बाँकी नै छ । सर्वोच्च अदालतमा विचाराधीन विवादले कस्तो रुप लिन्छ भन्न सकिन्न । मुद्दा नचलाउने महान्यायाधीवक्ताको निर्णयको परिक्षण हुँदैछ । आम मानिसले नपाउने सुविधा अमुक अमुक व्यक्तिले मात्र पाउने हो भने विधिको शासन वा कानुनको सर्वोच्चताको व्याख्या र अवस्था कस्तो होला भन्ने अहँ सवाल सबैका सामु खडा भएको छ ।

प्रत्येक नागरिकले आफ्नो कर्तव्य निर्वाहा गर्नु नै पर्छ । होइन भने शासकहरु अझ बढी खराब हुन्छन् । आशा गर्ने ठाउँ त कसैले पनि बनाएको छैनन् ।

जहाँसम्म तनहुँको उम्मेदवारीको विषय छ, त्यहाँ कांग्रेसले उपलब्ध राम्रो मान्छेलाई प्रस्तुत गरेको छ । उनले मतदाताको विश्वास जित्न सक्नुपर्छ । गोविन्द भट्टराईलाई चाहादा चाहादै पनि गठबन्धनप्रतिको अविश्वास, दलहरुप्रतिको आक्रोस र नेतृत्वप्रतिको चरम वितृष्णाको शिकार भट्टराई हुने हुन कि भन्ने देखिन्छ । कांग्रेसका कार्यकर्ता स्वर्णिमको पक्षमा रहेका कांग्रेसका नेताहरुको भूमिका कस्तो हुन्छ त्यसले पनि निर्वाचन परिणामलाई अदलबदल गर्न सक्छ । घात अन्तरघात र प्रतिबद्धताबाट अभिसप्त व्यक्तिहरु धेरै छन् । देखाउने र गर्ने व्यवहार फरक फरक भएका प्रशस्त उदाहरण पनि छन् । यी सबै अवस्थाको आकलन गरेर मतदान हुन सकेन भने यसै भन्न सकिँदैन ।

खराबभन्दा पनि खराब व्यक्तिको आवश्यकता देख्न थालिएको परिस्थिति गोविन्द भट्टराईका लागि निश्चित नै अनुकूल होइन । यसलाई उनले कसरी चिर्न सक्छन् त्यसले निर्णयमा बद्लाव ल्याउन नसक्ने पनि होइन । पार्टीकै साथीहरु इमान्दार छैनन, काखमा सुताएर छुरी रोप्ने प्रवृत्ति आजकल बलशाली छ । साधारण र स्वतन्त्र मतदाताहरुको निराशा र आक्रोस अनि प्रतिबद्ध मतदाताहरुको असहयोगको मार खानुपर्ने अवस्था पनि आउन सक्छ भन्ने कुरामा भट्टराई सतर्क हुनुपर्ने देखिन्छ । जीविकोपार्जनका निम्ति राजनीतिलाई व्यवसाय बनाएका व्यक्तिहरु कहाँ कसरी परिचालित हुन्छन् यसै भन्न सकिन्न । खरिद बिक्री सस्तो आकर्षण र आश्वासनले निर्वाचन प्रभावित हुनसक्छ र भएको छ ।

कसैले कुनै संस्था वा निकायमा भूमिका प्राप्त गरोस् उसको पनि योगदान रहेको छ भन्ने मनसायले कसैका प्रति सहानुभूति राख्न, समर्थन गर्न, सहयोग गर्नु वा सकरात्मक बन्नु एउटा कुरा हो । सत्ताको तावेदारी गर्नु फरक चरित्र हो । शासनशैली र शासकीय पद्धतिमा देखिएको रुपान्तरणको चाहना राख्नु र त्यसका निम्ति आफ्नो धारणा सार्वजनिक गरिरहनु नागरिकको दायित्व र कर्तव्य नै हो । प्रत्येक नागरिकले आफ्नो कर्तव्य निर्वाहा गर्नु नै पर्छ । होइन भने शासकहरु अझ बढी खराब हुन्छन् । आशा गर्ने ठाउँ त कसैले पनि बनाएको छैनन् । सतहमा देखिएका सबै सबै दल र नेतृत्व दलीय गुटगत तथा व्यक्तिगत स्वार्थमा चुर्लुम्म भएका छन् ।

देशको अवस्था बद्ल्ने र जनताको चाहना र भावनाको इमान्दिारितापूर्वक प्रतिनिधित्व गर्ने दृष्टिकोणको चरम अभाव छ । अवसरवादी चरित्र र भ्रष्ट प्रवृत्ति निर्णायक भएको समयमा त्याग, विचार र आदर्शको कुरा व्यर्थ नै हुँदो रहेछ । हामी आज त्यही अवस्थाबाट गुज्रिएका छौं । कुनै तर्कसंगत कारण बिना कहिले यता, कहिले उता हुने चरित्र विश्वासिलो बन्नै सक्दैन । यस्तो प्रवृत्तिले आशा जगाउन पनि सक्दैन । बिग्रिएको भत्किएको बनाउनेभन्दा थप क्षतिविक्षत गर्ने दिशामा नेपाली राजनीति अग्रसर देखिन्छ । राजनीतिक क्षेत्रभन्दा बढी रखाब सार्वजनिक सेवा प्रवाह गर्ने कर्मचारी संयन्त्र बनेको छ ।