प्रमाण मूल्यांकन गरेर नै रविविरुद्ध मुद्दा नचलाएका हौँ : महान्यायाधिवक्ता

प्रमाण मूल्यांकन गरेर नै रविविरुद्ध मुद्दा नचलाएका हौँ : महान्यायाधिवक्ता



काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानीको विषयमा प्रमाणको मूल्यांकन गरेर नै मुद्दा नचलाउने निर्णय गरेको स्पष्टीकरण दिएका छन् ।

महान्यायाधिवक्ता नियुक्तिको एक सय दिन पुगेका अवसरमा पत्रकार सम्मेलन गरेका खरेलले आफ्नो निर्णय राजनीतिक सौदाबाजीमा नभएको दाबी गरेका छन् ।

“रवि लामिछानेको राहदानी प्रकरणमा प्रक्रियागत रूपमा आइसकेपछि प्रमाणको मूल्यांकन गरेर, विवेकको प्रयोग गरेर गरिएको निर्णय हो,” महान्यायाधिवक्ता पोखरेलले भने, “यसलाई राजनीतिक सौदाबाजीमा भएको निर्णय हो भन्नु अन्याय हुन्छ ।”

उनले निर्णय कुन दिन भयो भन्ने कुरा संयोग मात्र भएको भन्दै त्यो आफ्नो चासोको विषय नभएको बताए ।

“हामीले विवेकपूर्ण रूपमा गरेको कामप्रति हामी कन्फिडेन्ट छौँ,” पोखरेलले भने, “राजनीतिक विषयसँग जोड्न जरुरी छैन ।”

महान्यायाधिवक्ता पोखरेलले रविको राहदानी विवादमा प्रहरीलाई सम्पूर्ण अनुसन्धान सकेपछि मात्रै फाइल पेश गर्न भनिएको र त्यसै अनुसार प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरेको बताए ।

प्रहरी प्रतिवेदनकै आधारमा सरकारी वकिल कार्यालयले रविविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचल्ने निर्णय गरेको र त्यही निर्णय उच्च सरकारी वकिल कार्यालय र महान्यायाधिकव्ताले पनि सदर गरेका थिए ।