गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ यात्रु घाइते, २ को अवस्था गम्भीर

गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ यात्रु घाइते, २ को अवस्था गम्भीर


ग्लोब नेपाल
0
Shares

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा माथिबाट खसेको ढुंगा बसमा लाग्दा चार यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई पुरुषको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।

मङ्गलबार बिहान करिब १:२५ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोरखोलामा काठमाडौँबाट दाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७३० नम्बरको बसमाथि अचानक ढुंगा खसेर लागेको थियो । बस चालक चितवनको रत्ननगर नगरपालिका–११ का ४९ वर्षीय लोक बस्नेतका अनुसार ढुंगा खसेपछि बसमा सवार यात्रु घाइते भएका थिए ।

घटनाको खबर पाएलगत्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

घाइतेमध्ये बर्दियाको गेरुवा गाउँपालिका–२ का ५६ वर्षीय सुरज लाल थारुको टाउको र घाँटीमा चोट लागेको छ । सोही स्थानका ३७ वर्षीय दोबरिका प्रसाद थारुको अनुहारमा चोट लाग्नुका साथै दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ की २० वर्षीया सलिना सुनारको खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । कञ्चनपुरको अमरबस्ती–१० की ४० वर्षीया भगवती कडेलको ढाडमा चोट लागेको र उहाँको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ ।