कर्णाली सरकारबाट बाहिरियो एमाले

कर्णाली सरकारबाट बाहिरियो एमाले



सुर्खेत । कर्णाली प्रदेश सरकार नेकपा एमाले बाहिरिएको छ । मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाएको सामाजिक विकासमन्त्री टेकराज पछाईँले जानकारी दिए ।

कर्णालीमा एमालेका तीन मन्त्री छन् । कर्णाली सरकारमा सामाजिक विकासमन्त्री पछाईँ, उद्योग वातावरण तथा पर्यटनमन्त्रीमा जीतबहादुर मल्ल र आर्थिक मामिला मन्त्रीमा विनोदकुमार शाह छन् ।

यहाँ एमाले-माओवादीबीच आलोपालोमा मुख्यमन्त्री चलाउने गरी सुरूमा राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए । केन्द्रमा गठबन्धन फेरिएसँगै कर्णालीमा एमाले सरकारबाट बाहिरिएको हो ।

गत १७ चैत्रमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले केन्द्रीय गठबन्धन अनुसार नै अघि बढ्ने उद्देश्यसहित सरकारलाई विश्वासको मत दिएको थियो । तर मुख्यमन्त्री शर्माले एमालेका ३ मन्त्रीलाई चाहेर पनि बर्खास्त गर्न सकिरहेका थिएनन् । अब एमाले बाहिरिएसँगै नयाँ समीकरण अनुसार सरकार गठनको बाटो खुलेको छ ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले चुनावताका माओवादी अध्यक्ष प्रचण्डले मुख्यमन्त्रीका लागि वचन दिएकाले नेतृत्वमा आफ्नो दाबी रहने बताउँदै आएका छन् । यद्यपि शुक्रबार बिहान माओवादी उपमहासचिव जनार्दन शर्मासँगको भेटपछि भने शाही लचक देखिएका छन् । शर्माले नेतृत्वमा वर्तमान मुख्यमन्त्री नै कायम रहने र साढे २ वर्षपछि शाहीले नेतृत्व गर्ने गरी समीकरण अघि बढ्ने सङ्केत गरे । शर्मा–शाहीबीचको भेटमा प्रारम्भिक सहमति भइसकेको भनिएपछि त्यस्तो लिखित कुनै सहमति भने भएको छैन ।