बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीमा लामा

बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीमा लामा



हेटौंडा । नेपाली कांग्रेस काभ्रेका सभापति रहेका प्रदेश सभा सदस्य तीर्थ लामाले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । आइतबार बागमती प्रदेश सरकार विस्तार हुँदा लामाले सो मन्त्रालयको जिम्मेवारी पाएका हुन् । लामाले आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितीमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासंग सपथ लिएका छन् । 

२०७९ सालमा भएको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित उनी २०७० सालको संविधानसभा निर्वाचनमा उनी काभ्रे क्षेत्र नं १ मा कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । सोही कार्यकालमा नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको सदस्य निर्वाचित भएका उनी संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सदस्य भएर भुमिका निर्वाह गरेका थिए । 

कम्युनिष्ट गढ मानिने क्षेत्रमा निर्वाचित हुने उनी कांग्रेसको पहिलो उम्मेदवार हुन् । २०६४ सालको निर्वाचनमा कांग्रेसले ७ हजार मत ल्याएको उक्त क्षेत्रमा ७० सालमा उनी १२ हजार भन्दा बढी मत ल्याएर विजयी भएका थिए । तत्कालिन माओवादी केन्द्र र एमाले मिलेर भएको बाम गठबन्धनका कारण २०७४ सालको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा भने उनी ४ हजार २६ मत अन्तरले मात्रै पराजित भएका थिए । बाम गठबन्धनका गंगाबहादुर दोङले ४३ हजार ६ सय ३१ र कांग्रेसका तिर्थबहादुर लामाले ३९ हजार ६ सय ५ मत प्राप्त गरेका थिए । 

२०६४ सालबाट नेपाली कांग्रेसको राजनीति शुरु गरेका लामा सोही बर्ष क्षेत्रीय उपसभापति मनोनित भएका थिए । पार्टीको १२औं र १३औं महाधिवेशनमा क्षेत्रीय सभापति निर्वाचित लामा संघीयतापछि जिल्ला २ निर्वाचन क्षेत्रमा विभाजन भएपछि प्रतिनिधी सभा क्षेत्र नम्बर १ को सभापति भएका थिए । पार्टीको १४औं महाधिवेशनमा उनी जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।