शितल निवासबाट फोन गरेर फोहोर उठाइदिन अनुरोध

शितल निवासबाट फोन गरेर फोहोर उठाइदिन अनुरोध



काठमाडौं । राष्ट्रपति कार्यालयले सोमबार विहान फोहोर व्यवस्थापन गर्ने निजी संस्थालाई फोन गरेर फाहोर उठाइदिन अनुरोध गरेको छ । शितल निवास र त्यस वरपरको क्षेत्रबाट फोहोर संकलन गर्दै आएको परिवर्तन सेवा प्रालिलाई शितल निवासले टेलिफोन गरेर फोहोर उठाइदिन भनेको हो ।

तर फोहोरमैला उठाएर बञ्चरेडाँडामा लैजानुपर्ने भएकाले त्यहाँ महानगरले नलैजान दिएको निर्देशनले फोहोर नउठाएको परिवर्तन सेवा प्रालिका सञ्चालक मित्र प्रसाद घिमिरेले बताए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारबाट फोहोर नउठाउन निर्देशन दिएपछि अहिले प्रधानमन्त्री कार्यालय सहित सिंहदरबार भित्रका कार्यालयबाट फोहोर उठेको छैन ।

फोहोरमैला व्यवस्थापन संघका अनुसार सरकारी कार्यालयबाट दैनिक करिब ९ टन फोहोर संकलन हुन्छ । महानगरपालिकाले फोहोर नउठाउन दिएको निर्देशन कायम भएसम्म फोहोर नउठ्ने संघले जनाएको छ ।