काठमाडौं सडक पेटीमा बनाइएका १९ प्रहरी बिट हटाइने

काठमाडौं सडक पेटीमा बनाइएका १९ प्रहरी बिट हटाइने


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र सडक पेटी तथा सडक पिचमा बनाइएका १९ वटा प्रहरी बिटहरू हटाउने भएको छ । सडक पेटी तथा सडक पिचमा अनधिकृत रूपमा बनाइएका प्रहरी बिटहरू हटाउन पत्राचार गरिसकेको महानगरपालिकाले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले संरचना हटाउन पत्राचार गरेको जानकारी दिएपनि प्रहरीले यसबारे आधिकारिक रूपमा कुनै जानकारीनआएको जनाएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रहरी बिटहरू हटाउने बारेमा कुनै पत्राचार नभएको जनाएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता राजेन्द्र प्रसाद भट्टले प्रहरी बिटहरू हटाउने बारे कुनै पत्राचार नभएको जानकारी दिए । उनले पत्र आएपनि आफ्नै च्यानलबाट आउने बताए । प्रहरी बिटहरू हटाउने बारे भएको पत्राचार सम्बन्धमा प्रहरीको केन्द्रीय कार्यालयले पनि अनविज्ञता प्रकट गरेको छ ।

केन्द्रीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक एवम् प्रवक्ता पोषराज पोखरेलले सडक र फुटपाथमा बस्न प्रहरीलाई पनि रहर नभएको बताए । उनले भने, …अहिले प्रहरीसँग जग्गा छैन । सार्वजनिक जग्गा भेटेमा हामी पनि सर्न तयार छौँ । सडक र फुटपाथमा बस्न प्रहरीलाई पनि रहर छैन ।’

यसअघि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलेले शनिबार फेसबुकमा स्ट्याटस लेख्दै सडक पेटी तथा सडक पिचमा बनाइएका प्रहरी बिटहरू प्रहरी आफैँले हटाउन भनेका थिए । …कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामूलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’ उनले लेखेका छन् ।

शाहले फेसबुकमा सार्वजनिक गरेका प्रहरी बिटहरू

१) काठमाडौँ महानगरपालिका वडा नं. ४ बालुवाटार प्रधानमन्त्री निवास अगाडी ।
२) वडा नं. २२ न्यूरोड पिपलबोट ।
३) वडा नं. २० चिकमंगल ।
४) वडा नं. १७ धोबी चौर ।
५) वडा नं. ३१ देउराली क्लब ।
६) वडा नं. ७ रातोपुल ।
७) वडा नं. ६ बौद्ध प्रहरी वृत्त अगाडी ।
८) वडा नं. १३ चाहाचल ।
९) वडा नं. ३२ पेप्सीकोला चोक ।
१०) वडा नं. ९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी ।
११) वडा नं. १६ माछापोखरी ।
१२) वडा नं. २६ सामाखुसी खोलामाथि ढलान गरेको स्थान ।
१३) वडा नं. ३२ जडीबुटी चोक ।
१४) वडा नं. ९ सिनामंगल चोक ।
१५) वडा नं. ६ चुच्चेपाटी ।
१६) वडा नं. १७ ढल्को ।
१७) वडा नं. १८ ताम्सीपाखा ।
१८) वडा नं. २९ रुद्रमतीमार्ग मैतीदेवी ।
१९) वडा नं. २७ असन चोक ।