जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय

जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । भू–उपयोग पहिलो संशोधन नियमावली, २०७९ पास भएसँगै जग्गा कित्ताकाट खुला भएको हो ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबन्डा रोकिएकाले त्यसलाई सहज बनाउन मन्त्रिपरिषद्ले नियमावली स्वीकृत गर्ने निर्णय गरेको बताइन् ।

“भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ । नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबन्डा रोकिएको थियो । त्यसलाई सहज बनाउनको लागि मन्त्रीपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको छ,” उनले भनिन् ।

यसअघि गत हप्ता पोखराका व्यवसायीसँगको कुराकानीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घरजग्गामा पैसा फसेको र भूउपयोग नियमावलीका कारण जग्गा कित्ताकाट रोकिएकाले खोल्ने तयारी भइरहेको बताएका थिए ।