ओमानले कतारलाई दियो २५० रनको लक्ष्य

ओमानले कतारलाई दियो २५० रनको लक्ष्य



काठमाडौं । एसीसी प्रिमियर कपको समूह ‘ए’ को खेलमा ओमानले कतारसामु २५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको ओमानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४९ रनको योगफल खडा गर्‍यो ।

ओमानका अयान खानले ६४ रन बनाए । अयानले ५९ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । कप्तान जिसान मक्सुदले ४१, सन्दीप गौडले ३४ रन बनाउँदा ओपनर कस्यप प्रजापति र मोहम्मद नदिमले समान १८ रन थपे । अकिब इल्यासले १७ रन जोड्दा जतिन्दर सिंहले १६ रन बनाए । कतारका अमिर फारुक र मुहम्मद मुरब समान तीन विकेट लिए । इक्रामुल्लाह खानले दुई विकेट लिए ।

यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

प्रिमियर कपको समूह ‘ए’ मा नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस्तै, समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

प्रतियोगिताको विजेताले एसिया कपमा स्थान बनाउनेछ ।