काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत बुधबार भएका खेलमा यूएई र ओमनले सहज जित हासिल गरेका छन् ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा यूएईले कुवेतलाई १४३ रनले पराजित गरेको हो । यूएईले दिएको ३७२ रनको पछ्याउने क्रममा कुवेत २२८ रनमै समेटिएको हो ।
कुवेतका लागि शाहित मुनबले ६८, परविन्दर कुमारले ५३ र मोहम्मद अस्लमले ३३ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । यूएईका लागि जुनैद सिद्दिकी र कार्थिक मयप्पनले तीन-तीन विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ६ विकेटको क्षतिमा ३७१ रन बनाएको थियो । यूएईका लागि भृत्य अरविन्दले १८५ र रोहन मुस्ताफाले ११८ रन बनाए। कुवेतका लागि शाहरुख कोदुसले दुई र परविन्दर कुमारले दुई-दुई विकेट लिए ।
त्यस्तै, मुलपानी क्रिकेट मैदानमा भएको खेलमा ओमनले कतारलाई ४० रनले पराजित गरेको छ । ओमनले दिएको २५० रनको लक्ष्य पछ्याउने क्रममा कतार ४७.२ ओभरमा २०९ रनमै समेटियो । ओमनका लागि विलाल खानले चार, जोय ओडेड्रा र अकिब इल्यासले दुई-दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमनले आठ विकेटको क्षतिमा २४९ रन बनाएको थियो। ओमनका लागि आयान खानले ६४, जीसन मक्सूदले ४१ र सन्दीप गौडले ३४ रन बनाए। कतारका लागि मोहम्मद मुराद र अमिर फारकले तीन-तीन विकेट लिए ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा बहराइन र सिंगापुर तथा मुलपानी क्रिकेट मैदानमा मलेशिया र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया