राष्ट्रपति बाइडेनले अर्को हप्ता पुन: चुनावी अभियान घोषणा गर्ने

राष्ट्रपति बाइडेनले अर्को हप्ता पुन: चुनावी अभियान घोषणा गर्ने


ग्लोब नेपाल
0
Shares

वाशिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको टोलीले अर्को साता पुनः चुनावी अभियान घोषणा गर्ने तयारी गरिरहेका छन् । राष्ट्रपतिका सहयोगीहरूले राष्ट्रपतिलाई आधिकारिक रूपमा आफ्नो अभियान शुरु गर्नको लागि एउटा भिडियो जारी गर्ने योजनालाई अन्तिम रूप दिइरहेको वाशिङ्गटन पोस्टले उल्लेख गरेको छ ।

द वाशिङ्गटन पोस्टका अनुसार राष्ट्रपति बाइडेन र उनका सहयोगीहरूले मङ्गलबार बाइडेनको सन् २०२० अभियान शुरुवातको चार बर्षे वार्षिकोत्सवको अवसरमा भिडियो जारी गर्ने निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले महिनौंदेखि आफू दोस्रो कार्यकालको लागि उम्मेदवार हुने योजनाको सङ्केत गरेका छन् तर आधिकारिक घोषणा भने गरेका छैनन् ।

राष्ट्रपतिका शीर्ष सहयोगीहरूले चुपचाप चुनावी दौडको लागि व्यापक तयारी गरेका छन् । त्यसका निम्ति उनीहरूले राष्ट्रपति र प्रथम महिलासँग गत वर्षदेखि व्हाइट हाउस निवासमा नियमित भेटघाटहरू गर्दैछन् ।

बाइडेनका दुई शीर्ष सल्लाहकारहरू, अनिता डन र जेन ओ’माली डिलनले पुन: निर्वाचन प्रयासहरूको निरीक्षण गर्दै आएका छन् । शीर्ष भूमिकाका लागि कर्मचारीहरूको अन्तर्वार्ता सहित उनीहरू आन्तरिक तयारीमा होमिएका छन् । उता डेमोक्र्याटिक राष्ट्रिय समितिले चुनावी परिदृश्य अध्ययन गर्न अनुसन्धान परियोजनाहरूलाई आर्थिक सहयोग गरिरहेको छ ।