लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरी नियुक्त



बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसमा डिल्ली बहादुर चौधरी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेका चौधरीलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

चौधरीलाई स्वतन्त्रसहित ८ दलका ५३ जना संसादहरुले समर्थन गरेका छन् । यसअघि बिहीबार नै चौधरीले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

चौधरीको शपथ शुक्रबार बिहान ११ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

२७ पुसमा मुख्यमन्त्री बनेका एमालेका लिला गिरीले विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका थिए । त्यसपछि प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । कांग्रेस संसदीय दलका नेता चौधरीले बिहीबार नै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

राष्ट्रपतिको निर्वाचनसंगै केन्द्रमा फेरिएको सत्ता समीकरणका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।