काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले समसामयिक विषयमा आफ्नो धारण राखेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद रोशन कार्कीले तत्कालीन नेकपा (माओवादी)का अयोग्य लडाकुलाई पैसा दिने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।
सांसद बद्री पाण्डेले बाजुरालाई केन्द्रबिन्दु भएर शुक्रबार भूकम्प गएको र सुदूरपश्चिम अझै भूकम्प आउने विशेषज्ञले बताइरहेका सन्दर्भमा यसको तयारीका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सांसद ठाकुर गैरेले संसद्को हिउँदे अधिवेशन बुधबार अन्तिम भन्ने सुनिएको तर प्रधानमन्त्रीले संसद्मा उठेका प्रश्नको जवाफ कहिले दिनुहुन्छ भनी प्रश्न गरे ।
सांसद चन्दा कार्कीले राष्ट्रपति उत्थान कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयअन्तर्गत राख्नुपर्ने, प्रसूति गृहमा हेलिप्याड राख्ने व्यवस्था गर्नुपर्ने माग गरिन् ।
सांसद विश्वप्रकाश शर्माले झापामा हात्तीको आक्रमणबाट व्यक्तिको मृत्यु हुनेक्रम बढ्दो रहेको र वन्यजन्तु तथा बालीनाली विनाश गर्ने गरेको अवगत गराउँदै राहत प्रदान गर्न एवं समस्या समाधानका लागि आवश्यक पहल गर्न माग गरे ।
सांसद रामहरि खतिवडाले अयोग्य लडाकुलाई जनही रु दुई/दुई लाख रकम वितरण गर्न लागिएकोप्रति विरोध जनाउँदै आर्थिक मन्दी भएका बेलामा यो कार्य रोकिनुपर्छ भने ।
सांसद वासुदेव घिमिरेले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले राखेका जायज माग पूरा गर्न सरकार गम्भीर हुनुपर्ने बताए । सांसद लालवीर चौधरीले किसानलाई समय मै मल र बीउको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया