काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब दुई सय बेवारिसे गाईबाच्छा संरक्षणका लागि सबैको सहयोग जुटाउने उद्देश्यले महायज्ञ गर्न लागिएको हो । यही वैशाख २२ देखि २८ गतेसम्म गोरक्ष महायज्ञ गरिने कार्यक्रम रहेको महायज्ञका संयोजक उत्तम पुडासैनीले जानकारी दिए ।
सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि पहिलोपटक यस्तो महायज्ञ गर्न लागिएको र महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले कथावाचन गर्ने छन् ।
गाईबाच्छा संरक्षण अभियानअन्तर्गत दुई सय बेवारिसे गाईबाच्छाले आश्रय पाएकामा तिनलाई सहयोग गर्नेको सङ्ख्या पनि अहिले बढ्न थालेको र यस अभियानमा जनचासो बढ्ने क्रम पनि जारी छ । यसै क्रममा गोरक्ष महायज्ञ गर्न लागिएको आयोजक समितिले जनाएको छ ।
त्यस्ता गाईबाच्छा संरक्षणका लागि नगरपालिकाले एम्बुलेन्स उपलब्ध गराएको जनाइएको छ ।
वैशाख २२ गते उपराष्ट्रपति रामसहायप्रसाद यादवले महायज्ञ शुभारम्भ गर्ने जनाइएको छ । अभियानले २०७५ जेठ १ गतेदेखि बेवारिसे गाईबाच्छा संरक्षणका लागि अभियान चलाउँदै आएको छ ।
प्रतिक्रिया