डाक्टरको घरमा नर्स झुन्डिएको अवस्थामा फेला

डाक्टरको घरमा नर्स झुन्डिएको अवस्थामा फेला



काठमाडौं । काठमाडौंमा एक स्टाफ नर्सको शव फेलापरेको छ ।

वीर अस्पतालमा कार्यरत २९ वर्षीया स्टाफ नर्स अनुमा श्रेष्ठ मृत फेलापरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।

काठमाडौं महानगरपालिका–१६, बोहोराटारस्थित एउटा घरमा श्रेष्ठको शव भेटिएको हो । उक्त घर विराटनगरस्थित कोसी अस्पतालका चिकित्सक सुजन ढकालको भएको एसपी रिजालले बताए ।

श्रेष्ठ शनिबार (हिजो) अपराह्न करिब ४ बजे उक्त घरमा झुन्डिएको अवस्थामा मृत फेलापरेकी हुन् । उनको शव अझै (आइतबार दिउँसो करिब साढे १ बजे) घटनास्थलमै रहेको एसपी रिजालले जानकारी दिए ।

घटनाकाे अनुसन्धान भइरहेकाे उनले जानकारी दिएका छन् । उनका अनुसार थप विषय खुल्न बाँकी छ । श्रेष्ठ किन र कसरी ढकालको घरमा पुगिन् भन्ने अनुसन्धान हुँदै छ । उनीहरूबीचको चिनजान, सम्बन्धका बारेमा पनि स्पष्ट भइनसकेको उनले बताए ।

श्रेष्ठको शव पोस्टमार्टमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिने बताइएकाे छ ।