रवि लामिछानेका ड्राइभर शम्भुको उपचारको क्रममा निधन

रवि लामिछानेका ड्राइभर शम्भुको उपचारको क्रममा निधन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका गाडी चालक शम्भु भनिने दिलबहादुर थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पताल स्रोतका अनुसार उनको मंगलबार दिउँसो करिब साढे एक बजे निधन भएको हो ।

वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट लडेर सख्त घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचार गरिएको थियो । टाउकोमा गहिरो चोट लागेका थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएको थियो । उनलाई वैशाख ५ गते मंगलबार सेनाको हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो ।

‘ब्रेन डेथ’को अवस्थामा रहेका थापाको मंगलबार दिउँसो निधन भएको हो । दुर्घटनामा परी निधन भएका कारण ड्राइभर थापाको शवलाई पोस्टमार्टमका लागि पाटन अस्पताल लगिने भएको छ । पाटन अस्पतालमा पोस्टमार्टम भएपछि मात्रै उनको शव अन्तिम संस्कारका लागि परिवारलाई बुझाइनेछ ।