रास्वपाका ढाकाकुमार चालु अधिवेशनमै संसदमा फर्किने

रास्वपाका ढाकाकुमार चालु अधिवेशनमै संसदमा फर्किने



काठमाडौं । घुस मागेको अडियो बाहिरिएसँगै सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । यो सँगै उनी चालु अधिवेशनमा संसदमा उपस्थित हुने उनको निजी सचिवालयले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले श्रेष्ठको रिटमाथि सुनुवाइ गर्दै रास्वपालाई कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वोच्चले अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । दुबै पक्षको बहस सकिएर आदेश नहुन्जेल श्रेष्ठलाई गरिएको कारबाही कार्यान्वयन नगर्न आदेश भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । यो आदेशसँगै श्रेष्ठको सांसद पद केही दिन कायम रहने भएको छ ।

व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि रास्वपाले सांसद र पार्टीको साधारण सदस्यसमेत नरहेने गरी निष्कासन गरेको थियो ।

उनले आफूलाई फसाउन षड्यन्त्र भएको भन्दै अदालतबाट क्लिन चिट लिएर आउने दाबी गर्दै रिट दायर गरेका थिए । रास्वपाले गरेको कारबाही सदर गर्दै सभामुख देवराज घिमिरेले उनको पद रिक्त भएको संसदमा जानकारी गराएका थिए ।