पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव केसी पनि पक्राउ



काठमाडौं । नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् । प्रहरीले उनलाई आज बिहान जडीबुटीबाट पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

यसैगरी सोही घटनाको अनुसन्धानका लागि पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पनि प्रहरीले चुच्चेपाटीस्थित उनकै निवासबाट आजै नियन्त्रणमा लिएको थियो । नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या १२ पुगेको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरिसकेको छ ।

उक्त घटनाका अर्का आरोपित नेकपा (एमाले) का सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार रहेकाले प्रहरीले खोजी गरिरहेको जनाएको छ । जिल्ला प्रहरी परिसरले उनिविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० वटा जाहेरी दिइसकेको बताइएको छ । उक्त घटनाका पीडितहरुले कूल रु २३ करोड २५ लाख ठगी भएको जाहेरीमा उल्लेख गरेका छन् ।