नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १२ जना पक्राउ परेका छन् । अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जना पक्राउ परेका हुन् ।

उक्त घटनाको अनुसन्धानका लागि खाँणलाई उनकै निवासबाट आज प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । प्रहरीले उनलाई आज बिहान जडीबुटीबाट पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

यसअघि मंगलबार काठमाडौंको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ ।

उक्त प्रकरणमा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म १०६ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको प्रहरीमा जाहेरी दिएका छन् ।