काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानले माग गर्ने हदसम्मका व्यक्ति तानिएको बताएका छन् ।
‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा आर्थिक रूपमा संगठित ठगी भएको देखिएको छ,’ सिंहदरबारमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘अनुसन्धानको प्रक्रिया अगाडि बढेको छ । अनुसन्धानले माग गर्ने हदसम्म विभिन्न व्यक्तिहरू तानिनुभएको छ ।’
गृहमन्त्री श्रेष्ठले निष्पक्ष ढंगले अनुसन्धान अघि बढाउन र त्यसलाई निष्कर्षमा पुर्याउन लागिपरेको बताउँदै भने, ‘अनुसन्धानले जसलाई दोषी देखाउँछ, त्यसलाई प्रहरीले छोड्दैन ।’
श्रेष्ठले आज शीर्ष नेताहरुसँग आफ्नो भेट नभएको र हिजो बालुवाटारमा भएको बैठकमा शीर्ष नेताहरुसँग अनुसन्धानमा सहयोग पुर्याउन आग्रह गरेको बताए । ‘आज मेरो विपक्षी दलका नेतासँग भेट भएन,’ उनले भने, ‘उहाँहरूको फरक विषय संसद र संवैधानिक समितिसम्बन्धी विधेयक र शान्ति प्रक्रियाबारे कुरा थियो ।’
गृहमन्त्री श्रेष्ठले पूर्वमा भएको आक्रमणका सन्दर्भमा कुराकानी गर्न आफूले केही दिन अघि एमाले अध्यक्ष केपी ओलीलाई निवासमै भेटको र नक्कली शरणर्थी प्रकरणको छानविनमा सहयोग मागेको समेत जानकारी दिए ।
‘उहाँ पूर्वमा हुँदा आक्रमण प्रयास भयो, मैले दुःख प्रकट गर्न र सुरक्षा गर्न प्रतिबद्ध छौं भनेर फोन गरेर काठमाडौं आएपछि भेट्छु भनेको थिएँ,’ श्रेष्ठले भने, ‘त्यसपछि मैले उहाँलाई केही दिनअघि निवासमै गएर भेटेँ । अनुसन्धानमा सहयोग र आडभरोसाको माग गरेँ । उहाँले दोषी नछुट्नेगरी र निर्दोष नफस्नेगरी काम गर्न भन्नुभयो ।’
प्रतिक्रिया