काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य प्रणाली सुधार्न स्वास्थ्य पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित स्वास्थ्य विटमा कलम चलाउने पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा मन्त्री बस्नेतले देशको स्वास्थ्य प्रणाली सुधार्न आफुलाई स्वास्थ्य पत्रकारहरुको सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालय सुधार्ने औषधि म सँग छ । त्यसमा स्वास्थ्य पत्रकार साथीहरुको सहयोग चाहिन्छ । ’
स्वास्थ्यमा लामो समय कलम चलाउन पत्रकारहरुसँग लामो अनुभव भएको बताउदै त्यो अनुभवलाई स्वास्थ्य अवस्था सुधार्न प्रयोग गर्न आवश्यक रहेको मन्त्री बस्तेतले बताए । मन्त्री बस्नेतले पत्रकारहरुसँग देशको स्वास्थ्य अवस्था सुधार्न अवलम्बन गर्नु पर्ने सुभाव मागेका थिए ।
पत्रकारहरुले आफुले देखेका समस्याका बिषयमा मन्त्री बस्नेतलाई बुदाँगत रुपमा सुझाव दिएका थिए । पत्रकारहरुले स्वास्थ्य बिमा, बजेट, कर्मचारी सरुवा, चिकित्सकको सेवा शुल्क, आयुर्वेद, सूचना संयन्त्र लगायतका बिषयमा केन्द्रित रहेर सुझाव दिएका थिए । आफु लामो समय स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै राजनीति गरेको स्मरण गराउदै बस्नेतले स्वास्थ्य सेवा सुधार गर्न सक्छु भन्ने लागेर नै आफु स्वास्थ्य मन्त्री भएको दावी गरे । उपचार शुल्क तिर्न नसकेर मृत्यबरण गर्नु पर्ने अवस्थाको अन्त्य गर्नका लागि सूर्तिजन्य पदार्थका कर बढाएर भए पनि बिपन्नको उपचार गर्ने फण्ड खडा गर्न लागिएको मन्त्री बस्नेतले जानकारी दिए ।
उनले भने, ‘ विपन्न विरामीका लागि त्यो फन्ड वीर अस्पताल जस्ता अस्पताललाई दिएर सबैको उपचार हुने वातावरण मिलाइने छ । ’ चिकित्सकहरुले विरामी जाचे बाफत लिने शुल्क जेठ १ गतेदेखि बढाउन लागिएकोमा मन्त्री बस्नेतले सरोकारवालाहरुसँग बसेर यस बिषयमा मन्त्रालयले सहजिकरण गरेर विरामीलाई मर्का नपर्ने गरि निर्णय गरिने जानकारी दिए ।
आफु काममा बिश्वास गर्ने मान्छे भएकाले स्वास्थ्यमा धेरै गर्न सकिने आधार रहेको उनले बताए । स्वास्थ्य पत्रकारहरुबाट प्राप्त सुझाव र सल्लाहबाट आफु उत्साहित भएको बताउदै मन्त्री बस्नेतले ती सुझाव क्रमश पालना गर्दै जाने बताए ।
प्रतिक्रिया