टोपबहादुरलाई सरकारी वकिलको कार्यालय लगियो

टोपबहादुरलाई सरकारी वकिलको कार्यालय लगियो



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा लगेको छ ।

आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने प्रक्रिया पूरा गर्न सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ पुर्जी जारी भएपछि टोपबहादुर फरार थिए, उनका छोरा सन्दीप रायमाझी भने यसअघि नै पक्राउ परिसकेका छन् ।

अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान गर्नेछ । रायमाझीले ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ । उनको सहयोगमा नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने गिरोहले गृहमन्त्रालयसम्म पनि बलियो पहुँच बनाएको प्रहरी अधिकृतहरुले बताएका छन् ।

यही प्रकरणमा यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत १३ जना पक्राउ परेका छन् । उनीहरू माथि म्याद थप गराइ प्रहरीले अनुसन्धान गरिरहेको छ ।