पूर्वसांसद आङ्टावा शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण

पूर्वसांसद आङ्टावा शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण

प्रकरणमा कसरी मुछिए शेर्पा



काठमाडौं । पूर्व सांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियाे । शेर्पाले टेकु स्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले शेर्पा प्रहरी कार्यालयमा आइपुगेको जानकारी दिए ।

यो प्रकरणमा नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन् ।

प्रकरणमा कसरी मुछिए शेर्पा

शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग शेर्पाले हिरासतमा पुगेर भेट गरेका थिए । दुलाल र भण्डारी २०७९ चैत १२ देखी हिरासतमा छन् । शेर्पालाई प्रहरीले खोजी रहेको थियाे । शनिबार काठमाडौँको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापा मारेको थियाे ।

शेर्पाले मोरङ घर भएका दुलाललाई प्रहरी वृत्त कालिमाटी र ललितपुर घर भएका सानु भण्डारीलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा पुगेर भेटेका थिए । भेटमा शेर्पाले आरोपीहरुलाई बयान गर्दा पूर्वगृहमन्त्री बालकृष्ण खाणको नाम नलिन आग्रह गरेको प्रहरीले बताएकाे छ ।

हिरासतमा गएर शेर्पाले कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले आरोपीहरुसँग लिएको रकम फिर्ता गर्ने आश्वासन दिएको थाहा भएको छ ।

तत्कालीन गृहमन्त्री खाणलाई मन्त्रालयमा गएर पैसा बुझाएको सानु भण्डारीले बयानमा खुलाएका छन् । थुनामै रहेका केशव दुलाल मार्फत १ करोड २५ लाख रुपैयाँ गृह मन्त्रालयमा लगेर बुझाएको उनले अनुसन्धान अधिकृतहरूलाई बताएका हुन् ।

१ करोड २५ लाख नगद बुझाएको बयान गरेपछि प्रहरीले बालकृष्ण खाँणलाई वैशाख २७ मा पक्राउ गरेको थियो । सचिव टेकनारायण पाण्डे पनि थुनामा छन् । खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि सो प्रकरणमा थुनामा छन् । केसीलाई प्रहरी वृत्त लैनचौरको हिरासतमा राखिएको छ ।