बीमक संघले कृषि बीमालेख बिक्री स्थगन गर्ने

बीमक संघले कृषि बीमालेख बिक्री स्थगन गर्ने



काठमाडौं । नेपाल बीमक संघले कृषि बीमालेख बिक्री बन्द गर्ने भएको छ । निर्जीन बीमा कम्पनीहरुको छाता संगठन बीमक संघले जेठ ७ गतेदेखि कृषि बीमालेख बिक्री बन्द गर्ने जनाएको हो ।

सरकारले कृषि बीमा वापत बीमा कम्पनीहरुले प्राप्त गर्नुपर्ने रकम उपलब्ध नगराएको भन्दै संघले कृषि बीमा बन्द गर्ने जनाएको हो । सरकारले कृषि बीमाशुल्कमा प्रदान गर्ने जनाएको ३ अर्ब रुपैयाँ अनुदान वापतको बीमाशुल्क प्राप्त भएको संघले जनाएको छ ।

कृषि बीमा अन्तरगत माछाको अनुदान रकम २०७७ देखि बाँकी रहेको संघले जनाएको छ । यस्तै बाली बीमाको अनुदान रकम २०७८ असोजदेखि चैत मसान्तसम्म आंशिक दिई हालसम्म बाँकी रहेको छ । पशुपन्छी बीमाको अनुदान रकम २०७८ असोजदेखिको बाँकी रहेको संघले जनाएको छ ।

नेपाल बीमक संघबाट जारी
प्रेस विज्ञप्ती

नेपाल सरकारले माघ १, २०६९ साल देखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशुल्कमा क्रमशः अनुदान दिदै आएको सर्व विदितै छ । विगत १० वर्ष देखि बीमा कम्पनीहरुले नियामक निकाय नेपाल वीमा प्राधिकरणको निर्देशिका बमोजिम कृषि बीमालेख जारी गर्ने, क्षती हुँदा क्षतीको दावी भूक्तानी गर्ने तर सरकारले तोकेको अनुदान सामान्यतया १ वर्ष पश्चात मात्र प्राप्त हुने गरेकोछ । हाम्रा छिमेकी मूलुकहरुमा समेत बीमाशुल्कमा अनुदान रकम प्राप्त भए पश्चातमात्र दावी भूक्तानी हुने गर्दछ तर नेपालमा संचालित बीमा कम्पनीहरुले दावी भूक्तानी गर्दै आएकाछन् । नेपाल सरकारले कृषि बीमाशुल्कमा तोकेको अनुदान रकम बीमा कम्पनीहरुलाई दिन हाल सम्म करिब रु. ३ अर्व बाँकी रहेकोछ ।

जस मध्येः माछाको अनुदान रकम विक्रम सम्वत २०७७ साल देखि बाँकी रहेको छ । बाली बीमाको अनुदान रकम विक्रम सम्वत २०७८ साल आश्विन देखि चैत्र मसान्त सम्म आँशिक दिई हाल सम्मको बाँकी रहेको छ । पशू पंक्षी बीमाको अनुदान रकम विक्रम सम्वत २०७८ साल आश्विन देखिको बाँकी रहेको छ ।

बीमा कम्पनीहरु बीमा ऐन, नियमावली, नियामकको निर्देशिका र परिपत्रको आधारमा कार्य गर्ने भएको र सोहि परिधिभित्र रहि जारी गरेको बाली बीमामा कृषि विभागले बीमाँक कट्टा गरि पठाएको विदितै छ । नेपाल बीमा प्राधीकरणले जारी गरेको कृषि वीमा निर्देशिका बमोजिम कार्य गरेका कम्पनीहरुको अनुदान रोक्नु नेपाल सरकारको कृषि योजनामा नै नकारात्मक प्रभाव पार्ने हुँदा नियामक निकाय नेपाल बीमा प्राधिकरण, कृषि विभाग र कृषि तथा पशुपंछि मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराउँन चाहन्छौ ।

उपरोक्त अनुदान रकम उपलब्ध गराउन नेपाल सरकार कृषि तथा पशुपंछि मन्त्रालय, कृषि विभाग र नेपाल बीमा प्राधिकरणलाई पटक पटक मौखिक तथा लिखित अनुरोध गर्दा समेत हाल सम्म प्राप्त नभएको कारणले बीमा कम्पनीहरु अत्यधिक जोखिममा रहेकाछन् ।

तसर्थ, नेपाल सरकारबाट प्राप्त हुनुपर्ने बाँकी वक्यौता अनुदान पूर्ण रुपमा प्राप्त नहुन्जेल कृषि संग सम्बन्धित सबै बीमाको बीमालेख जारी गर्न र सो संग सम्बन्धित क्षतिको दावी भूक्तानी दिन कम्पनीहरु असमर्थ रहेको साथै बीमालेखको बीमाँकमा कृषि विभागको असहमति रहेकोले बीमाँक एकिन नगरि दावी भूक्तानी दिन नसकिने भएकोले मिति २०८०/०२/०७ देखि कृषि संग सम्बन्धित बीमालेखहरु जारी गर्न तथा दावी भूक्तानी दिन स्थगन गरिएकोछ । यसबाट वीमित तथा दावीकर्ताहरुमा पर्न जाने असर प्रति क्षमाप्रार्थी छौं । धन्यवाद !

नेपाल बीमक संघ
त्रिपूरेश्वर, काठमाडौं ।