अस्ट्रेलियाले फिर्ता गर्‍यो रत्नेश्वर मन्दिरको ऐतिहासिक टुँडाल

अस्ट्रेलियाले फिर्ता गर्‍यो रत्नेश्वर मन्दिरको ऐतिहासिक टुँडाल



काठमाडौं । अस्ट्रेलियाले १३औं शताब्दीको रत्नेश्वर मन्दिरको टुँडाल नेपाललाई फिर्ता गरेको छ । आर्ट ग्यालरी न्यु साउथ वेल्सका निर्देशक माईकल ब्रान्डले मन्दिरका मुख्य पुजारी हेरम्बराज राजोपाध्यायलाई मंगलबार टुँडाल हस्तान्तर गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाका सहायक परराष्ट्रमन्त्री टिम वाट्स पनि उपस्थित थिए । कार्यक्रममा संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको उपस्थित थिए ।

हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सहायक परराष्ट्रमन्त्री वाट्सले आर्ट ग्यालरी न्यु साउथ वेल्सको प्रसंशा गरे । उनले भने, ‘अस्ट्रेलियाले आज उच्च नैतिक व्यवहार र अन्तर्राष्ट्रिय मान्यताअनुसार काम गर्न प्रतिबद्ध छौं भन्ने तथ्य प्रदर्शन गरेको छ । यो नै अस्ट्रेलियाली जनताको र विश्वको हामीप्रतिको आशा हो ।’

सहायकमन्त्री वाट्सले थपे, ‘आज उत्सव मनाउने समय हो, किनभने यो स्पष्ट भएको छ कि अस्ट्रेलिया र नेपालको सम्बन्ध फस्टाउँदै छ । यो सम्बन्धको मुटुका रुपमा हाम्रा दुई राष्ट्रका जनताहरू रहेका छन् ।’

उनले नेपालमा जलवायु परिवर्तन, प्रकोप पूर्वतयारी र सुशासनका क्षेत्रमा सहकार्य गर्न पाउँदा अस्ट्रेलियालाई खुशी लागेको बताए ।