रेशमलाई जन्मकैद गर्ने उच्च अदालतको फैसला सर्वोच्चबाट सदर

रेशमलाई जन्मकैद गर्ने उच्च अदालतको फैसला सर्वोच्चबाट सदर



काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्ने उच्च अदालतको फैसला सदर गरेको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त फैसला गरेको हो ।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित रेशम चौधरी जन्मकैदको सजाय काटिरहेका छन् । उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो ।

उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।

अदालतले टिकापुर घटनामा मुछिएका सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ । यस्तै लक्ष्मण थारुको हकमा ५ वर्षको कैद सजाय घटाएर ३ वर्ष कायम गरिएको छ ।

यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि रेशमलाल चौधरी अहिले डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् । जेलबाटै चौधरीले उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउन दिएको पुनरावेदनको रिटमाथि सर्वोच्च अदालतमा बहस भएको थियो ।

सर्वोच्च अदालतले संक्षिप्त फैसलामा भनेको छ, ‘अरु प्रतिवादीहरुको हकमा अभियोग दावीबाट सफाई पाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन ।’

टिकापुर घटनामा दोषी ठहर भएका चौधरी हाल डिल्लीबजार कारागारमा रहेका छन् ।