पूर्वसांसद शेर्पालाई २ दिन हिरासतमा राख्न अनुमति

पूर्वसांसद शेर्पालाई २ दिन हिरासतमा राख्न अनुमति



कामाडौं । नेपाली कांग्रेसका पूर्वसभासद आङ्टावा शेर्पालाई अदालतले दुई दिन थुनामा राख्न अनुमति दिएको छ । भुटानी शरणार्थीको कोटामा नेपाली नागरिकलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले शेर्पाबारे अनुसन्धान गरिरहेको छ ।

प्रहरीले शरणार्थी प्रकरणमा शेर्पाविरुध्द पनि अनुसन्धान थालेपछि उनले सोमबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौँमा आत्मसमर्पण गरेका थिए । मंगलबार प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो ।

अदालतले शेर्पालाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले बताए ।

२०७० मा रामेछाप–१ बाट संविधानसभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङ्टावाले हिरासतमा पुगेर भेट गरेका थिए । दुलाल र भण्डारी २०७९ चैत १२ देखी हिरासतमा छन् । भेटमा शेर्पाले आरोपीहरूलाई बयान गर्दा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिन आग्रह गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूको दाबी छ ।

हिरासतमा गएर शेर्पाले कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आरोपीहरूसँग लिएको रकम फिर्ता गर्ने आश्वासन दिएको पनि प्रहरीको दाबी छ । तत्कालीन गृहमन्त्री खाँणलाई मन्त्रालयमा गएर पैसा बुझाएको सानु भण्डारीले बयानमा खुलाएका छन् । थुनामै रहेका केशव दुलाल मार्फत १ करोड २५ लाख रुपैयाँ गृह मन्त्रालयमा लगेर बुझाएको उनले अनुसन्धान अधिकृतहरूलाई बताएका हुन् ।

१ करोड २५ लाख नगद बुझाएको बयान गरेपछि प्रहरीले बालकृष्ण खाँणलाई प्रहरीले वैशाख २७ मा पक्राउ गरेको थियो । सचिव टेकनारायण पाण्डे पनि थुनामा छन् । खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि सो प्रकरणमा थुनामा छन् ।

सो प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १४ पुगेको छ ।