हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ



काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार मियाँ सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ परेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा समितिको गाडी प्रयोग भएको खुलासा भएको थियो । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग मियाँको संलग्नता देखिएको छ ।

शरणार्थीको नाममा ठग्ने गिराेहलाई गृह मन्त्रालयको गाडी अध्यक्ष मियाले उपलब्ध गराएका थिए । गृह मन्त्रालयको स्वामित्वमा भएको बि.ए.बी–१४०५ नम्बरको निशान पेट्रोल जिप प्रहरीले बरामद गरेको छ । पीडितहरूलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर गिरोहका सदस्यहरू सो गाडीमा जाने गरेका थिए ।

चितवनको सौराहा र काठमाडौंका सुन्धारा लगायतका ठाउँमा अन्तर्वार्ता लिन जाँदा गिरोहका सदस्यहरूले सो गाडी प्रयोग गरेको अनुसन्धानबाट थाहा भएको छ । इम्बोस्ड नम्बर बिएबी–१४०५ नम्बरको सो जिप गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको नाममा छ ।

प्रहरीले अनुसन्धान थालेपछि नेपाल हज समितिका अध्यक्ष मियाँ सम्पर्कविहीन भएका थिए । हज समितिको प्रयोगका लागि उपलब्ध गराएको सो जिप अध्यक्ष मियाँले गिरोहका सदस्यलाई उपलब्ध गराएको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए ।

शरणार्थीको नाममा आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सो प्रकरणमा संलग्न आरोपमा १५ जना प्रहरीको हिरासतमा छन् ।