वाग्मतीमा ६ जना मन्त्री नियुक्त, ३ बजे शपथ

वाग्मतीमा ६ जना मन्त्री नियुक्त, ३ बजे शपथ



मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार ६ जना मन्त्री नियुक्त गरेका छन् । नेपाली कांग्रेस र नेकपा (एस)ले मागेअनुसार मन्त्रालयको संख्या उपलब्ध गराएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो । जम्कट्टेलले आइतबार दिउँसो ३ बजे शपथ ग्रहण गराउने गरी मन्त्री र मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।

मुख्यमन्त्री जम्कटेलले कांग्रेसका रामकृष्ण चित्रकारलाई बिनाविभागीय मन्त्री, उत्तम जोशी स्वास्थ्य मन्त्रालय, पुकार महर्जन पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र मसिना खड्का वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

मुख्यमन्त्रीले एकीकृत समाजवादीका लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालय र राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यसअघि कांग्रेसका बहादुर सिंह लामा तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । माओवादी केन्द्रबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कुमारी मुक्तान सामाजिक विकास मन्त्रालय र युवराज दुलाल, भौतिक पूर्वाधार विकासमन्त्री बनिसकेका छन् ।