बागमतीका ६ मन्त्रीले लिए शपथ

बागमतीका ६ मन्त्रीले लिए शपथ



हेटौंडा । बागमती प्रदेशमा नवनियुक्त ६ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार अपराह्न बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाँच विभागीय र एक विनाविभागीय मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।

नेपाली कांग्रेसबाट पुकार महर्जनले पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशीले स्वास्थ्य र मसिना खड्काले वन तथा वातावरण मन्त्रीको शपथ ग्रहण गरेका हुन् ।

त्यस्तै एकीकृत समाजवादीका लक्ष्मण लम्सालले श्रम तथा यातायात र डा. राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको शपथ लिए ।

कांग्रेस प्रदेश संसदीय दलका उपनेता समेत रहेका रामकृष्ण चित्रकारको भने मन्त्रालय तोकिएको छैन । दलहरूबीच छलफल गरी केहि दिनमै आफूले पाउने मन्त्रालयको टुंगो लाग्ने चित्रकारले बताए ।

बागमतीमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक विश्वासको मत पाएको दुई महिनापछि सरकारले पूर्णता पाएको हो ।