बिदा भए महालेखा परीक्षक शर्मा, नयाँमा लीलामणिको चर्चा

बिदा भए महालेखा परीक्षक शर्मा, नयाँमा लीलामणिको चर्चा



काठमाडौँ । महालेखा परीक्षक टङ्कमणि शर्मा आफ्नो ६ वर्षे कार्यकाल पूरा गरी गत आइतबार बिदा भएका छन् । तत्कालीन राष्ट्रपतिबाट २०७४ साल जेठ २ मा नियुक्त पाएका शर्माले ६ वर्षको पुरै कार्यकाल पुरा गरी बिदा भएका हुन् ।

शर्माले आफ्नो कार्यकालमा कार्यालयको काममा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । तर, उनको विदाइ भने खल्लो भएको थियो । केहि कर्मचारी संघ र संगठनका कर्मचारीहरु उनको विदाइ कार्यक्रममा उपस्थित नभएपछि कार्यक्रम खल्लो भएको हो ।

सरकारले महालेखा परीक्षकका रूपमा अझै कसैलाई पनि सिफारिस गरेको छैन । तर प्रधानमन्त्री पुष्पकमल दाहालको इच्छा लीलामणि पौडेललाई महालेखा परीक्षक बनाउने रहेको बुझिएको छ । मुख्यसचिव, चीनका लागि नेपाली राजदूत, महावाणिज्यदूतलगायत विभिन्न पदमा बसेर काम गरिसकेका पौडेललाई महालेखा परीक्षक बनाउने तयारीसमेत भएको बुझिएको छ ।

संयुक्त सरकारमा प्रधानमन्त्री दाहालको एकल इच्छाले मात्र नहुने भएकाले अब बस्ने सत्ता गठबन्धनको बैठकमा पौडेलकाे नाम छलफल गरिने बताइएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट महालेखा परीक्षक नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।