लोकतान्त्रिक शासन प्रणालीका निम्ति जेलनेल यातना र प्रभासको जीवन बिताएका राजनीतिकर्मीहरु यति धेरै बद्नाम भएकी उनीहरुलाई विश्वास गर्न सक्ने अवस्था नै छैन । जनउत्तरदायी शासन व्यवस्थाको अभ्यासका क्रममा सत्तामा गएका र नगएका समेत व्यक्तिहरुको जीवनशैली, आचरण चरित्र र दैनिकी हेर्दा यिनीहरु देशको मानप्रतिष्ठान र सम्मानका लागि काम गरिरहेका छन्, जनतालाई केन्द्रविन्दूमा राखेर अगाडि बढिरहेका छन् वा सेवामुखी भएर इमान्दारिताका साथ क्रियाशील छन् भन्न सक्ने परिस्थिति छैन । सम्पूर्ण किसिमले आशा, भरोसा र विश्वास भत्किएको, समाप्त भएको छाँटकाँट देखाएनन ।
खराबभन्दा खराब भन्ने, बनाउने प्रतिस्पर्धा चलिरहेको छ । केही डामिएका र नडामिएका अनुहार हेर्दा उनीहरुमा खासै भिन्नता छैन । गहिरिएर हेर्यो भने डामिएका भन्दा नडामिएकाहरु अझ बढी खराब हुन कि भन्ने लाग्छ । नेतृत्वमा पुगेका व्यक्तिहरुको सार्वजनिक छवी र प्रस्तुति यति नकरात्मक छ कि त्यसलाई न त सुधार गर्न सकिन्छ न त स्वीकार गर्न नै यसले त यतिसम्म गरेन कि भन्ने आशंका प्रकट गर्न पनि सकिँदैन । हिजो अख्तियारले डामेका र आज नक्कली शरणार्थीको रंगमञ्चमा रंगिएका पात्रहरुको बीचमा धेरै समानता देखिन्छ । अधिकांश राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व चुकेको छ, बद्नाम भएको छ, बद्मासी गरेको, देश र जनताप्रति इमान्दार र जवाफदेहि भएको छैन । आफ्ना छोराछोरीलाई विदेश श्रमबजारमा पठाएर नेपालमा भ्रष्टाचार गर्ने, गराउने तथा सार्वजनिक सेवा प्रवाह गर्ने संस्थाहरुलाई समाप्त बनाउने काम यिनीहरुबाट भएको छ । हुँदाहुँदा आफ्ना नागरिकलाई बेचबिखन गरेर अकूत कुम्ल्याउने र अरुलाई ‘त्याग’ गर्नुपर्छ भन्ने पाठ पढाउने काम भएको छ ।
नेपालको राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वमा रहेर काम गरेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्नुपर्ने र उनीहरुको श्रोत खोज्नुपर्ने आवश्यकता तड्कारो देखिन्छ । न्यायिक क्षेत्रका व्यक्तिहरुको पनि छानबिन अति जरुरी भइसकेको छ । भ्रष्टाचार, अनियमितता र बेइमानी गरेर बनाएको रकम प्रयोग गरेर इमान्दार मानिसमाथि प्रहार गर्ने, उनीहरुलाई पाखा लगाउने र असान्दर्भिक बनाउने काम भएको छ । यसले समाजमा नकरात्मक सन्देश गएको छ । जुनसुकै क्षेत्रमा पनि खराब धन्दाबाट आर्जेको रकम खर्च गर्न सक्ने व्यक्तिले मात्र अवसर पाउने परिपाटी नै बन्दै गएको देखिन्छ । नयाँ पुस्ताले अनुभव गरेको यस्तै छ र उनीहरु कि त पलायन भएका छन् कि त बद्मासीलाई आफ्नो व्यवसाय बनाएका छन् ।
भोलि भाउजु र छोराछोरीले पनि घरबाट निकालिदिन्छन्, विचार गर्नुस् भन्ने डन, विचौलिया, ठेकेदार र दलालहरुको धम्की खानु परेको गुनासो पुराना र असल र इमान्दार राजनीतिकर्मीहरुको सुनिन्छ ।
‘नेता’ भनाउँदाको श्रीमति, छोराछोरी नै ‘धन्दा व्यवसाय’ मा संलग्न भएका छन् । आफू त डुबे डुबे छोराछोरी, ज्वाइँ सालासाली समेतलाई डुबाए । छोराछोरीलाई विदेश पठाएर आम्दानीको श्रोत देखाउने, हुण्डीमार्फत् रकम पठाउने, भित्र्याउनेसम्मको काममा राजनीतिक एवम् प्रशासनिक नेतृत्वको मिलेमतो छ । साधन र श्रोत कुम्ल्याएर राज्यसत्तामा रजगज गर्न सकिन्छ भन्ने भाष्य निर्माण भएको छ । वास्तवमा योग्यताको मानक नै बनेको छ– ‘बद्मासी र बेइमानी’ । बेइमान हुन नसक्ने र बद्मासी गर्न नचाहने, नसक्ने व्यक्ति जुनसुकै क्षेत्रमा असफल र अयोग्य सावित भएको छ । यस्तो सोझो पाराले हुँदैन भन्ने भाक्ष्य बनेको छ, बनाइएको छ । ‘सोझो औंलाले घ्यु आउँदैन’, ‘घाँसलाई माया गरेर घोडा बाँच्दैन’ भन्ने जस्ता टुक्काहरु प्रयोग गरेर असल र राम्रा मान्छेहरुमाथि प्रहार गरिन्छ । लुट्नु, कुट्नु र काट्नु नै योग्यताको अब्बल नमुना बनेको छ । राजनीतिक, व्यापार, गुण्डागर्दी एकै किसिमको व्यवसाय बनाइएको छ । आम्दानीको राम्रो भरपर्दो र स्थायी श्रोतको व्यवसाय राजनीति नै रहेछ, यसको संरक्षणमा सबै किसिमका नाजायज कामहरु सहज हुँदारहेछ भन्ने आकर्षणले व्यापारी, ठेकेदार र हप्ता असुल्नेहरु बढी प्रिय बन्दै गएका छन् ।
एउटा इमान्दार राजनीतिकर्मीलाई ‘हप्ता असुल्ने नेता’ अचुक सल्लाह दिइरहेको देखिन्छ । राजनीति कसरी गर्ने मसँग सिक्नुस् दाइ, त्याग तपस्या र इमान्दारिताको समय सकियो । तपाईंहरुका नेता कस्ता छन् भन्ने मलाई थाहा छ । डान्स, वार, डिस्को क्लबमा रमाउने र रंगिने तपाईंहरुको नेतालाई कसरी चलाउनुपर्छ, उनीहरु कुन कुन कुराका सौखिन छन्, कहाँ कताग एर के के गर्छन् त्यसको जानकारी र अनुभव मसँग छ । यसरी हुँदैन, तपाईं आफू परिवर्तन हुनुहोस्, तपाईंका नेताको सिद्धान्त, आदर्श र विचार बद्लिसकेको छ । खै, तपाईंले बुझेको ? यस्तै हो र तपाईं नबद्लिने नै हो भने तपाईं समाप्त हुनुभयो, केही प्राप्ति हुँदैन ।
देश र जनताको कुरा छोड्नुस, आफ्नो कुरा गर्नुस्, आफूलाई केन्द्रविन्दूमा राख्नुस्, के गर्नुपर्छ हामी गछौं भन्ने सल्लाह, उपदेश र प्रवचन दिन थालेका छन् डन, विचौलिया, तस्कर र माफियाले असल र इमान्दार मानिसलाई लाग्छ कि उनीहरुको चाहना बेगर यहाँ केही हुँदैन । सबै सबै बिकिसके, बिग्रिसके । द्रव्य पिचास नै बनिसके । आचरण, व्यवहार चरित्र र आदर्श बिर्सिसके । मुद्दा होइन मुद्रा र मुन्द्रा निर्णायक बन्यो । कित मुद्रा बुझाउनुस कि त मुन्द्रा देखाउनुस् । केही न केही योग्यता नभएसम्म इमान्दारिता, आदर्श, विचार र त्यागको कुरा गर्नु मुर्खता हो । यस्तो काम नगर्नुस्, आफ्ना सन्ततीलाई योभन्दा बढी दुःख नदिनुस्, तपाईंको कारणले तपाईंका सन्ततीले किन दुःख पाउने ? तपाईंसँगै जेलनेल बसेका, त्याग गरेको नेताको परिवारको त्यस्तो फूर्तिफार्ती तपाईंको यस्तो ? भोलि भाउजु र छोराछोरीले पनि घरबाट निकालिदिन्छन्, विचार गर्नुस् भन्ने डन, विचौलिया, ठेकेदार र दलालहरुको धम्की खानु परेको गुनासो पुराना र असल र इमान्दार राजनीतिकर्मीहरुको सुनिन्छ । के हाम्रो समाज त्यस्तै भएको हो ? हरेक क्षेत्रमा सधैं संस्था र संगठनमा त्यस्तै पात्र र प्रवृत्तिको खोजी भएको हो ? हामी असफल नै भएको हौं ?
प्रतिक्रिया