कोशी प्रदेशकी स्वास्थ्यमन्त्री लिम्बूले दिइन् राजीनामा

कोशी प्रदेशकी स्वास्थ्यमन्त्री लिम्बूले दिइन् राजीनामा



विराटनगर । जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी निर्मला तावा लिम्बूले राजीनामा दिएकी छिन् । विराटनगरमा पत्रकार सम्मेलन गरी उनले राजीनामा घोषणा गरेकी हुन् ।

जसपाको प्रदेश समितिको बैठकले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

यस्तै सोही बैठकले मन्त्री लिम्बूलाई सरकारबाट फिर्ता आउन आग्रह गरेको थियो । पार्टीको निर्णयलाई आफूले मान्ने भन्दै उनले राजीनामा दिएकी हुन् । उनी पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन् ।

राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री लिम्बूले पार्टीको निर्देशन अनुसार पदबाट राजीनामा दिएको बताइन् । कोशी नामकरणको विपक्षमा रहेका पहिचान पक्षधरको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई पटक पटक आग्रह गर्दा नमानेपछि नैतिकताका आधारमा जिम्मेवारीबाट राजीनामा दिएको उनले बताइन् ।

उनले पहिचान पक्षधरबाट आफ्नो चरित्र हत्या गरेको बताइन् । सरकारमा बसेर पहिचानको मुद्दा उठाउदा आफूमाथि पहिचान पक्षधरबाट नै आक्रमणको प्रयास भएको बताइन् । आइतबार पहिचान पक्षधरले आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयमा ढुंगामुढा गरेका थिए ।