बजेटमाथिकाे छलफल सकियाे, भाेलि अर्थमन्त्रीले जवाफ दिने

बजेटमाथिकाे छलफल सकियाे, भाेलि अर्थमन्त्रीले जवाफ दिने



काठमाडौं । प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको सामान्य छलफलमा सांसदहरूले धारणा राख्ने क्रम सकिएको छ । आज आइतवारकाे बैठकमा सांसदहरूले बजेटमाथि धारणा राखेका हुन् ।

छलफलमा उठेका विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि साेमवार प्रतिनिधि सभाको बैठकमा जवाफ दिने सभामुख देवराज घिमिरेले जानकारी गराएका छन् । प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजे बस्ने छ ।

आजकाे बैठकमा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारको नीति तथा कार्यक्रम र बजेटबीच तालमेल नभएको बताए । बजेटमाथिको छलफलमा पौडेलले नीति तथा कार्यक्रम एकातिर, सिद्धान्त–प्राथमिकता अर्कोतिर र बजेट झनै अर्कोतिर फर्किएर आएको बताएका हुन् । उनले बजेट ‘गेम चेन्ज’ नभएर नेम चेन्ज’ मा सीमित भएको टिप्पणी पनि गरे ।

यस्तै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेट प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव गरेका छन् । बजेटमाथिको छलफलमा महामन्त्री थापाले बजेट कार्यान्वयनका लागि कानुन निर्माण गरेरमात्रै अघि बढ्ने प्रणालीको विकास गर्न सकेमात्रै कार्यान्वयन सुनिश्चित हुने तर्क गरे । सरकारले ल्याएको बजेट निर्माणमा आफ्नो अधिकार प्रयोग नगरेकै कारण सरकारले सांसदहरूलाई हेप्ने गरेको उनले गुनासोसमेत गरे ।

बजेटमाथिको छलफलमा सहभागी सांसदहरूले राजस्व सङ्कलन घटिरहेको अवस्थामा बजेटमा लिइएको लक्ष्यमा पुग्न सकिने अवस्था नरहेको भन्दै संशाेधन गर्नुपर्ने बताएका छन् ।