व्यवसायीले रोके आलु र प्याजको आयात

व्यवसायीले रोके आलु र प्याजको आयात



काठमाडौं । व्यवसायीले आलु र प्याजको आयात रोकेका छन् । संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारले आलु र प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै अहिले भारतबाट प्याज र आलु आयात नगरेको व्यवसायीले बताएका हुन् ।

आलु र प्याजमा लगाइएको भ्याटबारे सरकारले स्पष्ट नगराएसम्म आयत गर्न सहज नहुने नेपाल कृषिउपज आलुप्याज आयात निर्यात तथा थोक विक्रेता संघका अध्यक्ष मोहन बानियाँले बताए ।

दैनिक उपभोग गरिने आलु तथा प्याजमा लगाइएको भ्याटले भान्सा महँगिने भन्दै यसलाई खारेज गर्नुपर्ने व्यवसायीकाे माग छ ।

५० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दा सरकारलाई भ्याट तिर्नुपर्ने भएकाले यसले व्यवसायीलाई असहज बनाएको उनीहरूको भनाइ छ ।

अध्यक्ष बानियाँले सरकारले हचुवामा यो निर्णय गर्दा व्यवसायी मर्कामा परेको गुनासो गरे । हाल वार्षिक २० अर्ब रुपैयाँको प्याज र आलुको कारोबार हुने गरेको उनले बताए ।

व्यवसायी उज्ज्वल कार्कीले यो नीतिले नेपाली कृषकको उत्पादनमा पनि भ्याट लाग्ने बताए । व्यवसायी भ्याटमा दर्ता भएकाले भ्याट बिल नकाटे सरकारले कारबाही गर्ने भन्दै यसलाई खारेज गर्नुपर्नेमा उनले जोड दिए ।

हाल ९९ प्रतिशत प्याज भारतबाट आयात हुने गरेको उनले जानकारी दिए । बजारमा खपत हुने ६० प्रतिशत आलु भारतबाट आयात हुने पनि उनले बताए ।