आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाईएको हो : अर्थमन्त्री

आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाईएको हो : अर्थमन्त्री



काठामाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाईएको बताएका छन् । आ.व. २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले भने, ‘उपभोग्य वस्तुमा कर लगाएको कुरा आएको छ । यहाँको चासो चिन्ता स्वभाविक हो । तर मेरो उद्देश्य आन्तरिक उत्पादनलाई संरक्षण गर्नु हो ।’

आफ्नो उत्पादनलाई प्रोटेक्सन गर्न आयातित वस्तुमा कर लगाउनुपर्ने समेत बताए । ‘आलु प्याज पनि विदेशबाट आयात गर्ने ?, आफै उत्पादन गरेर खानु पर्‍यो’, उनले भने ।

महतले आफ्ना दाइ डा. रामशरण महतलाई सम्झँदै मूल्य अभिवृद्धि कर (भ्याट)मा दायरा बढाउने काम गरेको बताए । रामशरणको पालामा भ्याट लागु गरिएको थियो ।

अर्थमन्त्री डा. महतले आफ्नो दाइका पालामा वैज्ञानिक कर प्रणाली भ्याट दक्षिण एसियामा पहिलोपटक लागु गरिएको उल्लेख गरे । त्यो बेला उद्योगी–व्यवसायीको जुलुस निस्कने गरेको उनले स्मरण समेत गरे ।