मधेश प्रदेशमा रकम विनियोजन कम गरिएको छैन : अर्थमन्त्री

मधेश प्रदेशमा रकम विनियोजन कम गरिएको छैन : अर्थमन्त्री



काठमाडौं । मधेश प्रदेशमा बजेट विनियोजन कम नगरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । मधेश प्रदेशमा कम रकम विनियोजन गरिएको विषयमा संसदमा जवाफ दिँदै अर्थमन्त्री डा. महतले भने, ‘पूर्व–पश्चिम राजमार्ग, पथलैया–विरगंज कोरिडोर, चन्द्रपुर–गौर राजमार्ग, हुलाकी राजमार्ग तथा सुनकोशी मरिन, वागमती, कमला, चन्द्र नहर लगायतका सिंचाई आयोजना लगायत मधेश प्रदेश लक्षित राष्ट्रिय गौरव तथा ठूला आयोजनाहरुमा उल्लेख्य रकम विनियोजन भएको छ।’

त्यस्तै तराई मधेशलाई काठमाडौंसँग जोड्ने द्रुत मार्गमा पनि उल्लेख्य बजेट विनियोजन भएको छ । विभिन्न औद्योगिक पूर्वाधार तथा व्यापारिक पूर्वाधार आयोजनाहरु मधेश प्रदेशमा संचालित छन् । शहरी विकास र खानेपानीतर्फ समेत उल्लेख्य रकम मधेश प्रदेशमा विनियोजन भएको छ ।

मधेश प्रदेशमा ठूलो जनसंख्या भएकोले सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा पनि बजेटको ठूलो हिस्सा विनियोजन हुने गरेको छ। प्रदेश र स्थानीय तहमा जाने वित्तीय हस्तान्तरण हेर्दा कूल वित्तीय हस्तान्तरणको करीब १५ प्रतिशत मधेश प्रदेशमा गएको छ।

ढुङ्गा गिट्टी निकासी : वातावरणीय हिसाबले उपयुक्त देखिएको अवस्थामा मात्र निर्यात

अर्थमन्त्री महतले वातावरणीय हिसाबले उपयुक्त देखिएको अवस्थामा मात्र ढुङ्गा गिट्टी निर्यात गर्ने भनिएको बताएका छन् ।

‘हाम्रो प्राकृतिक स्रोतलाई उपयोग गरी मौद्रिकीकरण गर्न सम्भाव्यता अध्ययन गरी निर्यातको आधार तयार गर्न खोजिएको हो। तर वातावरणीय पक्षलाई उपेक्षा गरिने छैन ।’ महतले भने ।

‘चुरेलाई नै भत्काएर निर्यात गर्न खोजेको जसरी व्याख्या गरियो । जहाँ जहाँ निर्यात गर्न मिल्छ त्यहाँको निर्यात गर्छौ । भुटानले पनि त निर्यात गरिरहेको छ । ढुङ्गा के खनिज जन्य होइन र ?’ महतले भने, ‘अष्ट्रेलियामा पनि त ठूला ठूला खानी उत्खनन गरिएका छन् ।’