नक्कली शरणार्थी प्रकरण : थुनछेक बहस सकियो, आजै आदेश आउने

नक्कली शरणार्थी प्रकरण : थुनछेक बहस सकियो, आजै आदेश आउने



काठमाडौं । नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरुको थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलहरूले शुक्रबार जवाफी बहस गरेपछि थुनछेक बहस सकिएको हो । अभियुक्तहरुलाई थुनामै राखेर मुद्दा अघि बढाउने कि छोड्ने भन्नेबारे शुक्रबारै अदालतले आदेश गर्ने भएको छ ।

गत जेठ २१ गतेबाट जारी थुनछेक बहसमा सुरुमा वादी नेपाल सरकारका तर्फबाट बहस गरिएको थियो । तीन दिन नेपाल सरकारको तर्फबाट बहस गरिएपछि चौथो दिन वादीका तर्फबाछ स्वागत नेपाल, ध्रुवलाल श्रेष्ठ लगायत चारजना कानुन व्यवसायीले बहस गरेका थिए ।

शुक्रबार सरकारी वकिलहरूले राज्यविरुद्धको अपराधका अभियुक्तहरू भएकाले उनीहरूलाई छोड्दा प्रमाण नष्ट गर्ने सम्भावना भएकाले थुनामै राखेर थप अनुसन्धान अघि बढाउनुपर्ने माग इजलाससमक्ष राखेका छन् ।

शुक्रबार सरकारी वकिलका तर्फबाट भएको जवाफी बहसमा सह न्यायाधिवक्ता अच्युतमणि नेउपाने, जिल्ला न्यायाधिवक्ताहरु महेश खत्री तथा लक्ष्मण घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता निर्मला मरासिनीले जावाफी बहस गर्दै प्रतिवादीहरुलाई थुनामै राख्नुपर्ने माग गरेका थिए ।

थुनछेक बहसबाट प्रतिवादीमध्ये को कसलाई पुर्पक्षका लागि थुनामा पठाउने, के कसलाई धरौटी लिएर छाड्ने वा के कसलाई साधारण तारेखमा छाड्ने भन्ने आदेश आउनेछ ।

प्रहरीले यो प्रकरणमा ३० जनाविरुद्ध मुद्दा चलाएको छ । त्यसमध्ये १८ जना प्रहरी हिरासतमै छन् ।