पाँचथरमा पहिरोले पुरिएकी बालिकाको जीवितै उद्धार

पाँचथरमा पहिरोले पुरिएकी बालिकाको जीवितै उद्धार


ग्लोब नेपाल
81
Shares

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोले पुरिएकी ९ वर्षीया बालिकाको उद्धार गरिएको छ ।

फालेलुङ – ३ खोलाघारीस्थित मनप्रसाद राईको घरमा पुरिएकी जुना सावदेनको आज बिहान ७ बजे जीवितै उद्धार गरिएको हो । जुना मनप्रसादकी नातिनी हुन् । उनी मावली घरमा बसेर स्थानीय विद्यालयमा अध्ययन गर्दै आएकी थिइन् ।

बालिकाको खोजी गर्ने क्रममा बिहान जीवितै उद्धार गरिएको फालेलुङ गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले जानकारी दिए ।

मध्यरातमा घर माथिबाट खसेको पहिरोले मनप्रसादको घर बगाएको थियो । मनप्रसाद र उनकी श्रीमती भागेर ज्यान बचाउन सफल भएका थिए भने सुतिरहेकी जुना पहिरोमा परेकी थिइन् ।

अविरल वर्षासँगै आएको बाढीमा पर्दा फिदिम नगरपालिका – ४ हेवा खोला र माझिटार क्षेत्रका ५ जना बेपत्ता भएका छन् । उनीहरुलाई बाढीले बगाएको आशंका गरिएको पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जनाए ।