जिम्बाव्वेविरुद्ध शतक पूरा गर्न १ रनले चुके कुशल

जिम्बाव्वेविरुद्ध शतक पूरा गर्न १ रनले चुके कुशल



काठमाडौं । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध नेपालका ओपनर ब्याटर कुशल भुर्तेल ९९ रनमा आउट भएका छन् ।

कुशल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट राष्ट्रविरुद्ध शतक बनाउने पहिलो ब्याटर बन्नबाट एक रनले चुके । कुशल ९६ बलमा १३ चौका र दुई छक्कासहित ९९ रन बनाए ।

हरारे स्पोर्ट्स मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालका कुशल चौथो ओभरमा एक रनमा रहँदा क्याच आउट हुनबाट बचेका थिए । रिचार्ड एन्गाराभाले गरेको बलको चौथो ओभरको चौथो बलमा सिकन्दर राजाले कुशलको क्याच छुटाएका थिए ।

नेपालले अहिले ३२ ओभरमा एक विकेट गुमाएर १७१ रन बनाएको छ । हाल क्रिजमा रहेका आसिफ शेख ६५ र कुशल मल्ल शुन्यमा खेलिरहेका छन् ।

भुर्तेल र आसिफले पहिलो विकेटका लागि १७१ रनको कीर्तिमानी साझेदारी गरे । यो नेपालबाट आसिफ र कुशलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेटका लागि अहिलेसम्मकै उच्च साझेदारीसमेत हो ।

यसअघि पहिलो विकेटका लागि यही जोडीले सन् २०२२ को जुन १४ मा ओमानविरुद्ध ११४ रनको साझेदारी गरेका थिए ।

नेपाल र जिम्बाब्वेबीचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको यो पहिलो खेल हो । नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।