संशोधन नभए बजेट पास हुन दिँदैनौँ : सीके राउत

संशोधन नभए बजेट पास हुन दिँदैनौँ : सीके राउत



काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले सांसदहरूको मागअनुसार संशोधन नभए बजेट पास हुन नदिने बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा राउतले बजेटमा सांसदहरूका माग सम्बोधन हुने गरी संशोधन नभए सत्तापक्षका सांसदहरूले नै बजेट पास हुन दिन नहुने बताएका हुन् ।

पूर्वाधार विकास समितिले सुझावसहित बजेट संशोधनको प्रस्ताव लैजानुपर्ने उनको माग छ । राउतले भने, ‘समितिले सुझावसहित बजेट संशोधनको प्रस्ताव लैजानुपर्छ । कार्यान्वयन होला नहोला छुट्टै कुरा छ । समितिको रूपमा हामीले त्यो जिम्मेवारी निभायौँ, कार्यदल बनेको छ त्यसले बजेट संशोधन आवश्यक छ भन्नेकुरा लिएर जानुपर्छ ।’

एक जना मन्त्रीले मात्रै बजेट बनाउने भए २७५ सांसदहरूको आवश्यकता नभएको भन्दै राउतले निर्वाचित भएर आएका सांसदहरूको कुरा सरकारले सुन्नुपर्ने तर्क गरे ।

राउतले भने, ‘मन्त्रीपद सदावहार शासक होइन । मन्त्री बन्दैमा अंहकार देखाउनुपर्छ भन्ने पनि होइन । एक जनाले बजेट निर्माण गर्ने भए यति धेरै सांसदहरू किन आवश्यक पर्ने थियो । एक जनाले बनाउन नसक्ने भएर नै विभिन्न क्षेत्रबाट जनप्रतिनिधिहरू निर्वाचित भएर आएका छौँ, मन्त्रालयले सांसदहरूको कुरा सुनिदिनुपर्छ । बजेट विनियोजनमा पनि सांसदहरूको माग सुनिदिनुपर्छ । सरकारले सुनेन भने त्यो बजेटलाई पारित हुन नदिने अधिकार सांसदहरुलाई छ । त्यसलाई संसदहरूले उपयोग गर्न सक्नुपर्छ ।’

‘सरकार पक्षका सांसदहरूलाई पनि आग्रह गर्न चाहन्छु । मधेस प्रदेशभन्दा सुदूरपश्चिममा ६ गुणा बढी बजेट गएको छ । सूदुरपश्चिम प्रदेशको जनसंख्या भनेको २६ लाख छ भने मधेस प्रदेशको ६१ लाख रहेको छ,’ राउतले भने, ‘जनसंख्या वा मानव विकास सूचकाङ्कको आधारमा हो बन्ने, बजेट सिद्धान्तको आधारमा बजेट निर्धारण गरिनुपर्छ । त्यो अनुसार बजेट संशोधन गर्नुपर्छ ।’