ई–सेवामा रहेको रकम अब एटीएमबाट पनि झिक्न सकिने

ई–सेवामा रहेको रकम अब एटीएमबाट पनि झिक्न सकिने



काठमाडौं । भुक्तानी सेवाप्रदायक कम्पनी ई–सेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो ई–सेवा खातामा रहेको रकम एटीएम मेसिनबाट पनि झिक्न सक्ने भएका छन् । कम्पनीले एभरेस्ट बैंकसँगको सहकार्यमा ई–सेवा खातामा रहेको रकम एटीएमबाट समेत झिक्न सकिने सेवाको सुरुवात गरेको हो ।

ई–सेवाले दिएको जानकारीअनुसार एटीएमबाट ई–सेवा खातामा रहेको रकम निकाल्दा कुनै किसिमको कार्ड प्रयोग नगरी आफ्नो मोबाइलमा आउने ओटीपीमार्फत सहजै एटीएमबाट रकम झिक्न सकिनेछ ।

यसअघि ई–सेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्सफर गर्नुपर्ने हुन्थ्यो । तर, अबदेखि त्यस्तो झन्झट गर्नु नपर्ने भएको छ । यो सेवा वालेट कम्पनीहरूमा नेपालमै पहिलोपटक सुरूवात गरिएको कम्पनीको दाबी छ ।

हाल ई–सेवाको सेवा एण्ड्रोइड तथा आईओएस मोबाइलमार्फत ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । त्यसैगरी देशभर रहेका २ लाखभन्दा बढी एजेन्ट (ई–सेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रूपमा डेढ करोडभन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् । ई–सेवाबाट इन्स्योेरेन्सको प्रिमियम भुक्तानी, स्कुल/कलेजको शुल्क भुक्तानी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाईजहाजको टिकट, बस टिकट, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न किसिमका सरकारी सेवाहरूको शुल्क भुक्तानीलगायतका करिब ३ हजार मर्चेन्ट तथा सेवा सुविधाको भुक्तानी गर्न सकिन्छ ।