काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ । यसमा अब असार २५ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले असार १० गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो ।
तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको हो । हिमाल दोलखाले जेठ २२ गतेदेखि ७५% हकप्रद सेयर बिक्री खुला गरेको हो ।
यसले १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको छ । जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ । हकप्रद सेयरको लागि यस कम्पनीले वैशाख २७ मा बुक क्लोज गरेको थियो । तसर्थ, वैशाख २६ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।
यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता उच्च जोखिममा रहेको संकेत गर्दछ । कम्पनीको हकप्रद सेयरमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।
हकप्रदमा लक्ष्मी क्यापिटल तथा हिमाल दोलखा हाइड्रोपावर र लक्ष्मी बैंकको इलाम शाख कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया