ललितपुर महानगरपालिकाको बजेट ६ अर्ब ५० करोड

ललितपुर महानगरपालिकाको बजेट ६ अर्ब ५० करोड



काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार मानभवनको एक पार्टी प्यालेसमा आयोजित नगरसभामा महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

महानगरले पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार, चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार प्राप्त हुने अनुमान छ । उपप्रमुख शाक्यका अनुसार राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब प्राप्त हुनेछ ।

यस्तै, १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरेको छ ।

ललितपुरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथ लगायत विषयलाई प्राथमिकतामा राखेको छ ।

महानगरले बजेटमा सडक पूर्वाधार र सम्पदामा जोड दिएको छ । यस्तै विपद व्यवस्थापन डिआरआर सव- सेन्टर स्थापना तथा संचालन, पाटन दरबार इलिमिनेसन प्रोजेक्ट-हरियाली/पार्क निर्माणमा जोड दिएको छ ।

त्यस्तै, प्रत्येक वडामा सार्वजनिक शौचालय र आयोजना बैंक निर्माणमा पनि महानगरले जोड दिएको छ। विपद व्यवस्थापनका लागि ‘पाटन शहर सुत्दैन’ लागू गरिने बजेटमा उल्लेख छ ।