तुलसीपुर उपमहानगरको बजेट १ अर्ब ७९ करोड

तुलसीपुर उपमहानगरको बजेट १ अर्ब ७९ करोड



दाङ। आगामी आर्थिक वर्ष २०८०/८१ का लागि तुलसीपुर उपमहानगरपालिकाले एक अर्ब ७९ करोड ४५ लाख ६९ हजार ल्याएको छ । आइतवार १३ औं नगर सभाको दोस्रो बैठकमा नगरका प्रवक्ता माधव वलीले एक अर्ब ७९ करोड ४५ लाख ६९ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

उनले आर्थिक वर्षको चालुतर्फ ४७ करोड ७ लाख १८ हजार र पुँजीगतर्फ १ अर्ब ३० करोड ८८ लाख ५१ हजार विनीयोजन गरेको बताए ।

पालिकाले संघीय समानीकरण अनुदानतर्फ २९ करोड आठ लाख, संघ सरकारबाट ८ करोड ७१ लाख २१ हजार, प्रदेश सरकारबाट ८ करोड ७१ लाख २१ हजार, राजश्व बाँडफाँटतर्फ २३ करोड, बजेट आन्तरिक स्रोततर्फ ३६ करोड १५ लाख, अन्य संघ संस्था अनुदानमा नगरविकास कोष ऋण ११ करोड, युनिसेफ अनुदान ४५ लाख र सडक वोर्ड नेपाल १ करोड र युएसए आइडीबाट ३ करोड ७७ हजार अनुदान प्राप्त हुने अनुमान गरेका छ।

बजेटमा तुलसीपुर उपमहानगरपालिकाका गौरवका आयोजनाका लागि पाँच करोड विनियोजन गरिएको छ।त्यस्तै, पालिकाको आफ्नै अस्पतालबाट दिइने सेवा सुविधा बिस्तारका लागि समेत बजेट विनियोजन गरेको छ ।

वडा नम्बर १, ३, ४ र १९ मा वायु उर्जा उत्पादन केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययनका लागि समेत बजेट विनियोजन गरिएको छ । ‘समृद्ध तुलसीपुरः सबैका लागि, सँधैका लागि’ भन्ने मुल नारा रहेको उपमहानगरले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्रथामिकतामा राखेको छ ।