बजेट संशोधन नभई पास हुन्छ : अर्थमन्त्री महत

बजेट संशोधन नभई पास हुन्छ : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभइकन पास हुने बताएका छन् । सोमबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट असार १३ गते संशोधन बिना पास हुने बताए । पहिला नै धेरै सुझाव लिएर बजेट ल्याएकाले विधिभित्र रहेर काम गर्ने उनले बताए ।

सीमित स्रोत, साधनलाई मध्यनजर गरेर बजेट ल्याएको भन्दै उनले वास्तविकतामा बजेट आधारित रहेको दाबी गरे । बजेटमा समानता भएन भन्ने सांसदहरुको भनाइ आफूले मागेअनुसार बजेट नआएको आक्रोश मात्रै रहेको महतको टिप्पणी छ । बजेटको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन हुने महतले बताए ।

उनले भने, ‘बजेट पास हुन्छ त्यसमा दुईमत नै छैन’ थोरै साधन स्रोत, आवश्यकता धेरै यो आजको वास्तविकता हो । आजको सम्भावित स्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो ।’ अहिले आएको बजेटअनुसार स्रोत पुर्‍याउन पनि धेरै मेहनत गर्नुपर्ने आवश्यकता छ, आवश्यकता अनुसार बजेट भएन भनेर विभिन्न किसिमबाट अभिव्यक्ति आइरहेको छ, यसरी नभनिदिएको भए हुन्थ्यो भन्ने चाहना हो तर थोरै साधन स्रोतभित्र रहेर मैले गर्नसक्ने गरेको छु ।’