कोशी प्रदेशमा सर्वदलीय सरकार बनाउन राप्रपाको प्रस्ताव

कोशी प्रदेशमा सर्वदलीय सरकार बनाउन राप्रपाको प्रस्ताव



विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशमा कसैको पनि स्पष्ट बहुमत नभएकाले सर्वदलीय सरकार बनाउन प्रस्ताव गरेको छ । राप्रपा संसदीय दलका तर्फबाट बोलेका अम्बरबहादुर विष्टले प्रदेश सभामा यस्तो प्रस्ताव गरेका हुन् ।

उनले कोशी प्रदेशमा सरकार बनाउने र भत्काउने अभ्यास सुरु भएको भन्दै यसरी अस्थिरता सिर्जना गर्नुभन्दा सबै मिलेर सरकार सञ्चालन गर्नु राम्रो हुने टिप्पणी गरे । उनले सरकार सञ्चालनको अधिकार पहिलो र दोस्रो दल भएको र आफूहरुको रुचि नभएको पनि बताए । तर तत्कालीन समयमा सरकार गठनका लागि राप्रपाको आवश्यकता देखिएकाले आफूहरु सरकारमा सहभागी भएको उनले बताए ।

विष्टले प्रदेश सरकारहरु परिर्वतन भइरहँदा काम नहुने भन्दै स्थायी सरकार बनाउन दलहरुले ध्यान दिनुपर्ने बताए । उनले राप्रपा अहिले पनि मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको पक्षमा रहेको पनि उनले बताए । उनले प्रदेशमा गठन भएको सरकार ढालेर नयाँ बनाउनुको कुनै औचित्य नभएको भन्दै पक्षमै मतदान गर्ने बताए ।

कोशी प्रदेशमा ४६/४६ मत देखिएको छ । सरकार गठनका लागि ४७ मत आवश्यक हुनेमा एक मतको कमी सरकारलाई देखिएको छ । माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएका हुन् ।